सुर्खेत– कर्णाली प्रदेशमा जनताका गुनासा सुन्न र समाधानका लागि ‘हेलो मुख्यमन्त्री हटलाइन सेवा’ सुरु गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनताका गुनासाहरु प्रत्यक्ष सुन्ने र कार्यान्वयन गर्ने उद्देश्यसहित ‘हेलो मुख्यमन्त्री हटलाइन सेवा’ सुरु गरेको हो।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज उक्त सेवाको उद्घाटन गरेका हुन्। मुख्यमन्त्री कार्यालयमा अधिकृत तहको कर्मचारीले जनताले टिपाएका जनगुनोसाहरु मुख्यमन्त्री समक्ष पुर्याउने छन् भने त्यस्ता गुनासाको समाधान तत्काल गरिने जनाइएको छ।
प्रदेश सरकारले जनतासँग प्रत्यक्ष रुपमा जनताको जनगुनासाहरु सम्बोधन गर्न हेलो मुख्यमन्त्री कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समेटेको थियो। जनताका वस्तुगत समस्याहरुलाई सम्बोधन गर्न यो सेवा सुरु गरेको र प्रभावकारी रुपमा कार्यान्वयन गरिने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए।
‘हेलो मुख्यमन्त्री हटलाइन सेवा’को शुभारम्भ कार्यक्रममा कालिकोटका प्रेम सार्की र रुकुम पश्चिम मुसीकोटका दिपक बाँठामगरले आफ्नो गुनासो मुख्यमन्त्री शाहीलाई टिपाएका थिए। कालिकोट नरहरीनाथ गाँउपालिकाका प्रेमले जेठ १९ गते आफ्नी आमा मना सार्कीको हत्या भएको भन्दै हत्यारालाई कारबाहीको माग गरेका थिए।
त्यसैगरी मुसीकोट नगरपालिका बाँठामगरले त्रिभुवन जनता माध्यामिक विद्यालयको भवन निर्माण र खानेपानी आयोजना निर्माणमा भईरहेको ढिलाइका सम्वन्धमा मुख्यमन्त्रीसँग गुनासो राखेका थिए। मुख्यमन्त्री शाहीले दुवै जनाले टिपाएका गुनासो समाधानका लागि निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।