काठमाडौं–धनुषामा बुवा र श्रीमतीको हत्या आरोपमा छोरा पक्राउ परेका छन्। हत्या आरोपमा २७ वर्षीय भागेश्वर मण्डल पक्राउ परेका हुन्।
उनले आफ्ना बुवा मिथिला बिहारी नगरपालिका–५ ललियाका ५५ वर्षीय भागेश्वर मण्डल र श्रीमती २४ वर्षीया अमिरकादेवीको हत्या गरेको प्रहरी आशंका छ।
केही समयअघि मात्रै वैदेशिक रोजगारीबाट फर्केका उनले सोमबार बुवा र श्रीमतीको हत्या गरी करिब सय मिटर टाढा रहेको आँप बगैचाँमा खाल्डो खनेर गाडेको पाइएको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए।
रानाभाटका अनुसार भागेश्वरले शव चाँडै गलाउनका लागि नुनसमेत छर्केर गाडेका थिए। पारिवारिक विवादका कारण भागेश्वरले बुवा र श्रीमतीको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
विगत १० वर्षदेखि वैदेशिक रोजगारीमा रहेका उनी बेलाबेलामा आउने जाने गर्थे । २०६७ सालमा मलेसिया गएका भागेश्वर ४ वर्ष त्यहाँ बसेका थिए। मलेसियाबाट फर्किएर उनले बिहे गरेका थिए। त्यसपछि फेरि उनी वैदेशिक रोजगारीका लागि कतार गए। उनी कतारबाट गत चैतमा मात्रै फर्केका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।