काठमाडौं- मोरङ मिक्लाजुङ्ग गाउँपालिका ६ का धनराज लिम्बुको हत्यामा संलग्न रहेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही गाउँपालिका-६ भण्डारी टोल बस्ने रविन तामाङ, संजय तामाङ, आइतराज तामाङ र भाग्य बम्जन रहेका छन्।
गत शनिबार रविन र उनकी श्रीमतीबीचको पारिवारिक झगडा मिलाउन जाँदा ४५ वर्षीय धनराज र ५५ वर्षीय दुर्गाबहादुर कार्कीलाई उनीहरुले लाठीले टाउकोमा प्रहार गरेर घाइते बनाएका थिए।
घाइते धनराज र दुर्गालाई तत्काल स्थानिय अस्पतालमा उपचारपश्चात थप उपचारको लागि विराटनगर महानगरपालिका-२ स्थितमा विराटनगर अस्पताल लगिएको थियो। उपचारको क्रममा धनराजको सोही दिन मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्गा भने स्थानिय साझा अस्पताल मिक्लाजुङमा उपचारपश्चात घर फर्किएका छन्।
उक्त घटनामा संलग्न चारै जनालाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले मोरङ जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूरमा दिन ८ म्याद थप गरी अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।