काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत नै रहने संकेत गरेका छन्।
सोमबार गृह प्रशासन सुधारसम्बन्धी कार्याशाला गोष्ठीमा मन्त्री खाँणले राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत नै रहने संकेत गरेका हुन्।
गृह प्रशासन सुधार गोष्ठीमा पूर्व गृहसचिव, प्रहरी प्रमुखदेखि उच्च अधिकारी, गुप्तचर प्रमुख लगायतको उपस्थित थियो। गोष्ठीमा बोल्दै पूर्व गृहसचिव उमेश मैनालीले गृप्तचर विभाग गृहमन्त्रालय मातहत नै राख्नुपर्ने धारणा राखेका थिए। सूचना संकलनपछि कार्यन्वयनको पाटो गृह मन्त्रालयमा रहेकाले गुप्तचर गृह मातहत राख्दा अझ प्रभावकारी हुने उनको भनाइ थियो।
कार्यक्रममा बोल्दै अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माले भने सिद्धान्त र अन्तराष्ट्रिय अभ्यास हेर्दा गुप्तचर निकाय प्रधानमन्त्री कार्यालय मातहत नै राख्दा उत्तम हुने बताएको कार्यक्रममा सहभागी एक उच्च अधिकारीले नेपाल लाइभलाई जानकारी दिए।
कार्यक्रमको अन्तमा भने गृहमन्त्री खाणले गुप्तचर निकाय प्रधानमन्त्री कार्यालय मातहत नै हुने संकेत गरेका थिए। उनले कार्यक्रममा बोल्दै भने, ‘गुप्तचर प्रधानमन्त्री मातहत भनिएको छ। तर, मैले अहिलेसम्म भेउ पाउन सकेको छैन, प्रम मातहत छ कि गृह मातहत। चाहिने सूचना यता नि आएकै छ उता नि गएकै छ।’
२०७४ फागुन १६ को मन्त्रिपरिषद् बैठकले गृह मातहत रहेको गुप्तचर विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याउने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।