नवलपरासी– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा मधेसी जनताको हित र भावनाअनुसार संविधान संशोधन हुने बताएका छन्।
रुपन्देहीको मझगाँवामा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ठूलो पार्टीले मात्र संविधान संशोधन गर्नसक्ने भएकाले अब हुने सबै निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन आह्वान गरे।
कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयनका लागि कांग्रेसले अब मधेशीसहित सबै वर्गको चाहनानुसार संविधानलाई संशोधनमार्फत पूर्णता गराउने प्रतिबद्धता व्यक्त गरे। नेता पौडेलले अब देशको विकास, गाउँको विकास र जनताको विकासमा कांग्रेस लाग्ने बताए।
कांग्रेस महामन्त्री डा शशांक कोइरालाले विकासका कामलाई पूर्णता दिने काम अब कांग्रेसको काँधमा आएको जिकिर गरे।
कार्यक्रममा देउवाले कांग्रेस प्रवेश गरेहरुलाई स्वागत गरेका थिए। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण, डा मिनेन्द्र रिजाल, पूर्वअर्थराज्यमन्त्री भरतकुमार शाहलगायतले बोलेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।