झापा- झापाको कन्काई नगरपालिकामा एकै परिवारका तीनजना मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार कनकाई नगरपालिका–१ रमाइलो टोलमा आठ महिनाकी बालिकासहित एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार घर भित्रबाट चुक्कुल लागेको पाइएको र प्रारम्भिक अनुसन्धानमा आत्महत्या देखिएको छ।
झुण्डिएको अवस्थामा फेला पर्नेहरुमा ४० वर्षीय रवीन विश्वकर्मा, उनकी २९ वर्षीया श्रीमती मुना विश्वकर्मा र आठ महिनाकी छोरी रुविना विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनीहरुलाई आफ्नै घरभित्र आज बिहान झुण्डिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। मुनाले आठ महिने छोरीलाई छातीमा टाँसेर बर्कीले बाँधेर झुण्डिएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए।
मृतक रवीन वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाडौँसम्म गएको तर कोरोना पोजिटिभ देखिएका कारण फर्किएर आएको स्थानीयवासीले बताएका छन्।
स्थानीयवासीका अनुसार रवीन वैदेशिक रोजगारमा स्थानीय युवालाई पठाउने एजेन्टका रुपमा काम गर्दै आएका थिए। आत्महत्या गर्नुपर्ने कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।