काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दसैंअगाडि नै गर्ने तयारी गरेको छ। परीक्षा दिने अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउने वातावरण बनेपछि अब दसैंअगावै परीक्षा हुन सक्ने अवस्था सिर्जना भएकाले सोहीअनुसार तयारी थालिएको बोर्डका अधिकारीले जनाएका छन्।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्वीकृति दिएमा दसैंअगाडि नै परीक्षा गर्न सक्ने अवस्थामा रहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। सीसीएमसीले अनुमति दिएपछि १५ दिनको अग्रिम सूचना दिएर विद्यार्थीका लागि परीक्षाबारे सूचित गरिने उनले बताए।
सहरी क्षेत्रमा अध्ययन गर्ने धेरै परीक्षार्थी परीक्षा रोकिएपछि गाउँतिर लागेकाले उनीहरूलाई परीक्षाका बारेमा अग्रिम सूचना दिनुपर्ने अवस्था रहेको उनको भनाइ छ।
सीसीएमसीले अनुमति दिएमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न आफूहरूलाई कुनै समस्या नभएको परीक्षा नियन्त्रक शर्माले बताए।
सरकारले यसै साता मात्रै कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको छ।
यसअघि बोर्डले प्रवेशपत्रका आधारमा कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई खोप उपलब्ध गराइदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको थियो।
यसअघि साउन २३ गते सम्पन्न बोर्ड बैठकले साउन ३१ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो।
कक्षा १२ को परीक्षा दुई पटकसम्म सरिसकेकाले अब सार्न नपर्ने गरी परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने बोर्डको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।