काठमाडौं– इटालियन सिरी ए अन्तर्गतको आफ्नो पहिलो खेलमा युभेन्ट्स बराबरीमा रोकिएको छ।
आइतबार राति सम्पन्न खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स युडिनेजीसँग २–२ गोलको बराबरीमा रोकिएको हो।
युडिनेजीको मैदानमा सम्पन्न खेलमा पहिलो हाफमै २–०को अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाड्नु परेको हो।
खेलको तेस्रो मिनेटमै पाउल डिबलाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए। २३ औं मिनेटमा जुवान कोर्डाडोले गोल गर्दै युभेन्ट्सलाई २–० को स्थितिमा पुर्याए।
खेलको ५१ औं मिनेटमा रोबर्टो पेरिय्राले गोल गर्दै युडिनेजीलाई २–१ को स्थितिमा ल्याए। खेलको ८३औं मिनेटमा जेरार्ड डेउलोफेउले गोल गर्दै खेल २–२ को स्थितिमा ल्याएर युडिनेजीलाई हारबाट जोगाए।
खेलको इन्जुरी समयमा क्रिस्टियानो रोनाल्डोले गरेको गोलले मान्यता नपाउँदा युभेन्ट्स जितबाट बञ्चित भएको थियो। भीएआरको सहायतामा रोनाल्डोको गोल अफसाइड देखिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।