काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लण्डन डर्बीमा फरवार्ड रोमेलु लुकाकु र रिस जेम्सको गोलसँगै चेल्सीले आर्सनललाई पराजित गरेको छ।
चेल्सीले इमिरेट्स स्टेडियममा आइतबार भएको खेलमा घरेलु टोली आर्सनलमाथि २–० को सहज जित हात पारेको हो।
दुवै गोल पहिलो हाफमा भएको थियो। खेलको १५औं मिनेटमा लुकाकुको गोलबाट चेल्सीले अग्रता लिएको थियो।
यसै समरमा इटालियन च्याम्पियन इन्टर मिलानबाट चेल्सी आएका लुकाकुले जेम्सबाट आएको पासलाई सहजै गोलमा परिणत गरे। उनको यो डेब्यू गोल हो।
३५औं मिनेटमा जेम्सले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे। उनले मासन माउन्टको पासमा बायाँ कर्नरमा उत्कृष्ट गोल गरे।
चेल्सीको यो लगातार दोस्रो जित हो। जितसँगै चेल्सी २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ।
समान ६ अंक नै रहेपनि लिभरपुल, ब्राइटन र टोटेनहम गोल अन्तरमा पछि छ। आर्सनल अंकविहीन हुँदै पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।