सर्लाही- 'अन्तर्राष्ट्रिय लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता २०७५' आजदेखि सुरु हुँदैछ।
सर्लाहीको लालबन्दीस्थित राधाकृष्ण खेल मैदानमा आज सर्लाही-११ र जावलाखेल युथ क्लबबीच उद्घाटन खेल हुने फुटबल संघ सर्लाहीका महासचिव उज्ज्वल कार्कीले जानकारी दिए।
प्रतियोगितामा काठमाडौँका विभागीय टिम नेपाल पुलिस र सशस्त्र प्रहरी बलसहित ‘ए’ डिभिजन क्लब थ्रीस्टार र जावलाखेल युवा क्लब, मोफसलको रमपम झापा-११, गोर्खा ब्वाइज-रुपन्देही, विजय युथ क्लब-हेटौंडा ,कास्की-११ पोखरा, सर्लाही-११ र नेपालबाहिरको क्लब युनाइटेड सिक्किम-भारत गरी १० टिमहरुको सहभागिता रहनेछ।
प्रतियोगितामा प्रथम हुने टिमले ७ लाख नगदसहित शिल्ड तथा दोस्रो टिमले ३ लाख ५० हजार नगदसहित शिल्ड प्राप्त गर्नेछन्। त्यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीलाई नगद ५० हजारसहित ट्रफी लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगद १५ हजारसहित ट्रफी, उदीयमान खेलाडीलाइ एउटा बाइक प्रदान गरिने र प्रत्येक खेलमा म्यान अफ दि म्याच पनि प्रदान गरिने आयोजक सर्लाही जिल्ला फुटबल संघका अध्यक्ष ठाकुर बहादुर सुश्लिङ (विष्णु) ले जानकारी दिए।
प्रतियोगितामा वृद्ध र अपांगता भएकाहरुलाई नि:शसुल्क प्रवेशको व्यवस्था गरिएको छ भने सर्वसाधारण प्रवेशका लागि एक सय शुल्क तोकिएको छ। प्रतियोगिता असार २ गते सम्पन्न हुनेछ।
लालबन्दी नगरपालिका र सर्लाही जिल्ला फुटबल संघको आयोजना, लायन्स क्लब लालबन्दी परिवारको सह-आयोजना र उद्योग वाणिज्य संघ लालबन्दीको विशेष सहयोगमा प्रतियोगिता हुने भएको हो। प्रतियोगितामा करिब ७० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।