Photo : CFP
काठमाडौं- अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीले अर्को साता हुने कतार २०२२ विश्वकप छनोट अन्तर्गतका तीन खेल खेल्ने भएका छन्। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्धनको दुई साता बितिसक्दा पनि डेब्यू नगरेका उनले राष्ट्रिय टोलीबाट खेल्ने पक्का भएको हो।
पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोका अनुसार मेस्सी फिट छैनन्। यद्यपि, मेस्सीले पछिल्लो केही दिन पूर्ण प्रशिक्षणमा भने सहभागिता जनाइरहेका छन्। उनले अर्को साता राइम्सविरुद्ध हुने लिग वनको खेलमा डेब्यू गर्ने सम्भावना छ। त्यसपछि उनी स्वदेश फिर्ता हुनेछन्।
अर्जेन्टिनाले सेप्टेम्बर पहिलो साता भेनेजुएला, ब्राजिल र बोलिभियासँग खेल्ने कार्यक्रम छ। छनोटका ६ खेलमा अपराजित अर्जेन्टिनाले ३ जित र ३ बराबरीसँगै १२ अंक जोडेको छ। अर्जेन्टिना अंक तालिकाको दोस्रो स्थानमा छ। यता, ६ खेलमा १८ अंक जोडेको ब्राजिल शीर्षस्थानमा छ।
मेस्सीसँगै ब्राजिलका नेयमार पनि विश्वकप छनोटको खेलमा सहभागी हुने बताएको छ। प्रशिक्षक पोचेटिनोले आफ्ना खेलाडीले राष्ट्रिय टोलीबाट खेल्ने कुरामा आफू सकारात्मक रहेको बताए।
‘अर्जेन्टिना जाने विषयमा कुनै समस्या छैन। हाम्रा खेलाडीले राष्ट्रिय टोलीबाट खेल्ने कुरामा हामी सधैं सकारात्मक छौं। अर्जेन्टिना मात्र होइन, अन्य खेलाडी र देशको विषयमा पनि हाम्रो यहि धारणा हो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।