काठमाडौं– भक्तपुरको ठिमीमा रहेको दिव्यश्वरी गेस्ट हाउस एण्ड रेस्टुरेन्टमा नक्कली बम फेला परेको छ। प्रेसर कुकरमा केही फलामका टुक्रा र तार जडान गरेर बम जस्तो बनाएर होक्स राखिएको पाइएको हो।
शनिबार साँझ बम जस्तो वस्तु आफ्नो गेस्ट हाउसमा देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले नेपाली सेनालाई खबर गरेपछि बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो। पछि डिस्पोज गर्दा उक्त बस्तु बम नभएर होक्स (नक्कली बम) भएको पाइएको थियो।
उक्त वस्तु कसले किन राख्यो भनेर अनुसन्धान गर्दा होटलमै आएका ग्राहकको संलग्नता देखिएको प्रहरीले जानकारी दिएको छ।
होटेलमा आएर बम राखेको आरोपमा प्रहरीले काभ्रेको तेमाल गाउँपालिका घर भएका ३२ वर्षीय नविन तामाङलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार पक्राउ परेका तामाङले होटलमा नक्कली बम राखेको स्वीकार गरेका छन्। होटेलले धेरै रकमको बिल दिएपछि तर्साउनका लागि भनेर आफूले नक्कली बम राखेको भनेर तामाङले बयान दिएका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक (एसपी) शिव श्रेष्ठले जानकारी दिए।
पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको एसपी श्रेष्ठको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।