काठमाडौं- सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ।
शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) परिसर सातदोबाटोमा एक कार्यक्रमबीच खेल तालिका सार्वजनिक गरिएको हो।
भदौ १० गतेबाट उपत्यकामा सुरु हुने छनोट प्रतियोगितामा यसअघि एन्फाले २५ जिल्लाका ७९ क्लब सहभागी हुने जानकारी दिएको थियो। तर, तालिका सार्वजनिक गर्नुअघि काठमाडौं युनाइटेड क्लबले नाम फिर्ता लिएको छ।
उसका प्रतिनिधिले कोरोनाको कारण लिग नखेल्ने जानकारी दिएको एन्फाले जनाएको छ। अब छनोटप्रतियोगितामा बागमती प्रदेशबाट ६१ , प्रदेश नम्बर १ बाट ७ तथा अन्य प्रदेशबाट दुई/दुई क्लब सहभागी हुनेछन्।
एन्फाले सहभागी ७८ क्लबलाई २६ समूहमा विभाजन गरेको छ। प्रत्येक समूहमा ३ क्लब रहेका छन् । तालिका अनुसार १ क्लबले समूह चरणमा २ खेल खेल्नेछन् ।
हरेक समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ। दोस्रो चरण तथा नकआउट चरणलाई ३ समूहमा विभाजन गरिएको छ। हरेक समूहका फाइनल विजेता ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन्।
प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब भिड्नेछन्।
देशभरबाट ७८ क्लबको सहभागिता रहने लिग कार्तिक ८ समापन हुनेछ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।