काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले बिहीबार नेकपा (एमाले)का प्रमुख सचेतक र सांसदहरुले सभामुखप्रति देखाएको व्यवहारले वातावरण थप असहज बनाएको जनाएको छ।
सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले एमाले सांसदबाट सभामुखमाथि भएको अभद्र व्यवहारले वातावरण थप बिग्रेको बताएका हुन्।
‘विपक्षी दलका नेताको अशोभनीय अभिव्यक्ति सार्वजनिक सञ्चारमाध्यममा आयो,’ उनले भने, ‘हिजो आउनुभएका माननीय सांसदहरुको प्रस्तुति, अभिव्यक्ति र सार्वजनिक सञ्चारमाध्यमबाट दिनुभएको असंसदीय, अमर्यादित र अशोभनीय अभिव्यक्तिले वातावरण बिगार्न मद्दत गरेको छ।’
माधवकुमार नेपालसहित १४ सांसदमाथिको कारबाही प्रक्रिया तत्काल अघि बढाउन दबाब दिने उद्देश्यसहित एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सांसदहरु महेश बस्नेत, खगराज अधिकारी, निरुदेवी पाललगायत सभामुखलाई भेट्न पुगेका थिए।
भेटका क्रममा सांसद बस्नेतले सभामुखप्रति लक्षित गर्दै आन्दोलन र बल प्रयोग गर्न नपरोस् भन्दै धम्की दिएका थिए। सभामुखसँग भेटेर बाहिर आएलगत्तै प्रमुख सचेतक भट्टराईले पनि सभामुखप्रति आक्रामक रुपमा अभिव्यक्ति दिएका थिए।
एमाले विभाजनमा सहयोग गरेको भन्दै उनीहरु शुक्रबार पनि सभामुखको कार्यकक्षमा पुगेका थिए। सभामुख सापकोटा पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत सिन्धुपाल्चोकको लिसंखुपाखरका समाजसेवी पद्मबज्र लामाको निधन भएकोले उनीप्रति श्रद्धाञ्जलि दिन लागि मण्डिखाटार गएका बेला एमाले सांसदहरु सचिवालय पुगेर सार्वजनिक सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएको भन्दै सचिवालयले असन्तुष्टि जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।