काठमाडौं– नेकपा (एमाले) संसदीय दलका सचेतक शान्ता चौधरीले सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार भेट्ने समय दिएर आफू भागेको आरोप लगाएकी छन्। यसअघि बिहीबारको भेटमा सभामुखले सूचना टास्ने आशय व्यक्त गरेको भए पनि भेट नगरेको उनले बताए।
माधव नेपालसहित १४ जनालाई कारबाही किन नगरेको भनी दवाव दिन सभामुखको कार्यकक्षमा पुगेकी उनले आफूहरूले २ घन्टा कुर्दासमेत नआएर सभामुखले छलेको आरोप लगाइन्। ‘सभामुखले हिजो मेरो ध्यानाकर्षण भएको छ भनेर आश्वासन दिनुभएको थियो, सूचना टास्ने आशय व्यक्त गर्नुभएको थियो,’ उनले भनिन्, ‘बिहान पनि मैले सोधेको थिएँ। तर, आज उहाँ भाग्नुभयो।’
सभामुखले माओवादी पार्टीको पक्षधरता देखाएको बताउँदै उनले यो एमालेका लागि मान्य नहुने दाबी गरिन्। ‘उहाँसँग सम्पर्क भयो। हामीले कुरेका छौँ भन्यौँ। उहाँले म आज व्यस्त छु भन्नुभयो,’ उनले भनिन्, ‘मेरो ध्यानाकर्षण भएको छ। म गर्छु भन्नु भएको छ। हेरौँ के गर्नुहुन्छ। अनि एमालेले निर्णय गर्छ।’
एमाले चुप लागेर नबस्नेसमेत उनले बताइन्। ‘हिजो चर्काचर्की भएकै हो। हिजो माओवादी केन्द्रका तत्कालीन सांसदमाथि कारवाहीको सिफारिस हुँदा २४ घन्टा नहुँदै सूचना निकालेर कारबाही गरेको हो, अहिले किन भएन भनेर हामीले भनेका हौं,’ उनले भनिन्, ‘हामीले बल प्रयोग गर्न नपरोस् भनेकै हो। दवाव दिन आएको हो, हामी दवाव दिन्छौं।’
सभामुख व्यक्ति नभई संस्था भएकाले उनले कुनै काम अहिले नगर्ने भन्ने कुरा तर्कसंगत नहुने उनले बताइन्। सभामुखले आफूहरुलाई 'फेस' गर्न नसकेको दावीसमेत उनले गरिन्।
सभामुखले आजसम्म यस विषयमा कारबाही नगरे पार्टीगत निर्णय गरेर एमाले अघि बढ्ने उनले बताइन्। सभामुख सापकोटाविरुद्ध पनि आफूहरु प्रस्तुत हुने उनको संकेत थियो।
उता निर्वाचन आयोगमा माधव नेपाल पक्षले नयाँ पार्टी दर्ताको निवेदन बिहीबार नै दर्ता गरेको पाइएको छ। नेकपा समाजवादी बिहीबार चार बजे दर्ता भएको र आज प्रमाण-पत्र लिने तयारी भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।