काठमाडौं- तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि भाग्न खोज्ने एक युवा फुटबल खेलाडीको मृत्यु भएको छ। युवा फुटबल खेलाडी जकी अनवरीको त्यस बेला मृत्यु भएको हो जब उनी काबुलबाट जाँदै गरेको एक अमेरिकी सैन्य विमानमा लुकेर चढ्ने प्रयास गरिरहेका थिए।
अफगानिस्तान प्रशासनले यसको पुष्टि गरेको छ। विमान चढ्ने प्रयासमा उनको मृत्यु भएको प्रशासनले बताएको बीबीसीले उल्लेख गरेको छ।
१९ वर्षीय अनवरीले अफगानिस्तानको राष्ट्रिय युवा टीमबाट खेलिसकेका छन्।
अफगानिस्तानका शारीरिक शिक्षा एवं खेल महानिर्देशनालयले फेसबुकमा एक विज्ञप्ति राख्दै अनवरीलाई श्रद्धाञ्जली दिएको छ। महानिर्देशनालयले लेखेको छ, “उनको आत्माले शान्ति पाओस् र परिवार, साथी र खेलाडीको लागि प्रार्थना गरौं।”
अफगानिस्तानमाथि तालिबानले कब्जा गरेपछी केही दिन पहिला हजारौ मानिस देशबाट निस्कने कोसिसमा काबुल विमानस्थलमा जम्मा भएका थिए।
पश्चिमा देशले आफ्ना नागरिक र अफगान सहकर्मीलाई त्यहाँबाट बाहिर लैजाँदै थिए।
काबुल विमानस्थलबाट सार्वजनिक भएका भिडियोमा कयौं मानिस विमानसँगै दौडिइरहेका थिए र विमानको माथि चढेको देखिएको थियो। केही मानिस जबरजस्ती बिमानमा चढ्ने प्रयास गरिरहेका थिए। स्थानीय मिडिया रिपोर्ट्सका अनुसार विमान उडेपछि कम्तिमा दुई जनाको माथिबाट खस्दा मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।