काठमाडौं– बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले काठमाडौंबाट बुधबार दुई जनालाई पक्राउ गरेको हाे।
पक्राउ पर्नेहरूमा दक्षिणकाली नगरपालिका–३ सोखेलका ४० वर्षीय समुन्द्रकेशर केसी र काभ्रे धुलिखेल नगरपालिका–७ घर भई काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने ४८ वर्षीय श्यामप्रसाद धिनाजू श्रेष्ठ छन्।
उनीहरूमध्ये केसीलाई अदालतबाट बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र ३० लाख रुपैयाँ जरिवाना तथा श्रेष्ठलाई छ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भएको थियो।
उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको अवस्थामा पीडितलाई सनराइज बैंक र मेगा बैंकको चेक काटी दिई बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी अदालतबाट उक्त फैसला भएको थियो।
उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं र जिल्ला अदालत भक्तपुर पठाइएको ब्यूरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।