पर्वत– महाशिला गाउँपालिका–५ लुंखुदेउरालीस्थित चिसापानीको लेकमा चिया खेती सुरु गरिएको छ।गाउँपालिकाको फलामखानीमा चिया उत्पादन हुन थालेपछि लंखदेउरालीमा पनि विस्तार गर्न थालिएको हो।
चिसापानी लेकको खाली जमिनमा चियाका बिरुवा रोप्न थालिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी बताए। पहिलो चरणमा तत्काल एक हजार बिरुवा रोपिने उनको भनाइ छ।
करिब एक दशकदेखि चियाखेती सुरु गरिएको फलामखानी र यहाँको हावापानी एकै प्रकृतिको छ। चिसापानी धार्मिक एवं पर्यटकीयस्थलका रुपमा समेत विकास हुँदै गएको छ। यस वर्ष परीक्षणका रुपमा एक हजार बोट रोप्न थालिएको र बिरुवा हुर्कंदै गए तथा हावापानी मिले आगामी वर्षदेखि थप विस्तार गर्दै जाने उच्चैले बताए।
गाउँपालिकाले नियुक्त गरेका स्वयंसेवकलाई नै चियाका बिरुवा रोपणमा खटाइएको छ। उनीहरुले नै फलामखानीदेखि बिरुवा ल्याएर रोप्न थालेका हुन्।
फलामखानीमा यस वर्ष झण्डै १२ हजार चियाका बिरुवा तयार गरिएको थियो। चिसापानी क्षेत्रमा चियाखेती विस्तारका लागि हजारौँ रोपनी क्षेत्रफल खाली भए पनि अहिले परीक्षणका लागि १० रोपनी जग्गामा मात्र बिरुवा रोप्न थालिएको हो। फलामखानीमा ६० हेक्टर क्षेत्रफलमा चिया खेती गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।