फाइल तस्वीर
काठमाडौं– भक्तपुर नगरपालिकाकाले यस वर्षको गाईजात्रा औपचारिकता सीमित गरेर मनाउने निर्णय गरेको छ। नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार सरोकारवालाबीच भएको छलफलले कोरोना महामारी बढेको भन्दै जात्रा औपचारिकतामा सीमित गर्ने निर्णय गरेको हो।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को संक्रमण दिनानुदिन बढिरहेकाले सापारु अर्थात् गाईजात्रा अवधिभर घिन्ताङ्घिसी र अन्य सांस्कृतिक नाचगान प्रदर्शन नगरी सामान्य औपचारिकतामा मात्रै सीमित गरेर मनाउने निर्णय बैठकले गरेको नगरप्रमुख प्रजापतिले बताए।
कोभिड जोखिमका कारण नजिकिँदै गरेको सापारु पर्व र गुन्हीपुन्हीलाई शान्तिपूर्ण एवं सुरक्षित ढंगले औपचारिकतामा सीमित गर्न सरोकारवाला पक्ष, सांस्कृतिक गुरु एवं सांस्कृतिक प्रतिनिधिसँग छलफल गरेर निर्णय गरेको नगर प्रमुख प्रजापतिले बताए।
भक्तपुर नपा समाजलाई कोभिड सङ्क्रमणबाट मुक्त गर्ने प्रयासरत रहेको चर्चा गर्दै प्रमुख प्रजापतिले आफ्नो स्वास्थ्यको सुरक्षाको निम्ति जनता स्वयं सजग हुनुपर्ने बताए।
बैठकमा भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जनताको जीवनरक्षा नै पहिलो प्राथमिकतामा रहेको हुँदा कोभिड महामारीका कारण नजिकिँदै गरेको गाईजात्रा पर्व भीडभाड नगराई औपचारिकतामा सीमित बनाई मनाउने गरी सुरक्षा दिने बताए।
गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्य, ख्वप अस्पतालका डा रत्नसुन्दर लासिवा, काठमाडौं उपत्यका खानेपानी लि, नेपाल विद्युत् प्राधिकरण, विभिन्न केबल नेटवर्कका प्रतिनिधि तथा अन्य निकायले जात्रा अवधिभर स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न, खानेपानीको व्यवस्थापन गर्न, विद्युत् कटौती नगर्न, अव्यवस्थित तार र केबुलको व्यवस्थापन गर्न आ–आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सरोकारवालासँग बसेको सो बैठकले सापारुका दिन भक्तपुर नगरपालिकाले ठाउँठाउँमा प्राथमिक स्वास्थ्य उपचार केन्द्रको व्यवस्था गरी मास्क, स्यानिटाइजर वितरण, साबुनपानीले हातधुने व्यवस्था, सरसफाइलगायत प्रचारप्रसारका लागि माइकिङ गर्ने व्यवस्था गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।