काठमाडौं- नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले एमाले एकता अभियान फेरि शुरु गर्ने भएका छन्। एमाले विभाजित भएपछि गौतमले यसअघि थालेको अभियान फेरि सुरु गर्न लागेका हुन्।
२०५४ सालमा नेकपा एमाले विभाजन गरेर नेकपा माले गठन गरि पुन: एमालेमा समाहित भएका गौतमले यसअघि नेकपा विवाद हुदाँदेखि नै पार्टी एकता अभियान सुरु गरेका थिए।
गौतम पछिल्लो समय अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षमा खुलेका थिएनन्। उनी पार्टी विभाजन नभई एकतावद्ध भएर अघि बढ्नुपर्ने बताउँदै आएका थिए।
नेकपा नाम विवादमा सर्वोच्च अदालको फागुन २३ गतेको फैसलापछि उनी एमालेभित्र देखिएको दुई धारको बीचमा उभिँदै आएका थिए। कुनै समय नेपाल नजिक भएको देखाउने गौतम बालुवाटार पुगेर ओलीलाई साथ दिएकोसमेत भन्ने गरेपछि दुबै पक्षले उनलाई विश्वास गरेको थिएन।
गौतम निकटका अनुसार एमाले विभाजन हुँदा त्यसको असर समग्र कम्युनिष्ट आन्दोलनमा पर्ने भएकाले एकतावद्ध हुनुपर्ने भन्दै उनले बीचमा रहेर एकताको पहल गर्ने भएका हुन्।
उनी नेपालपक्षले दल दर्ताका लागि निवेदन दिएको नेकपा एमाले समाजवादीमा नजाने स्रोतको भनाइ छ।
केही समय अघि भने गौतमले माधव नेपाल- झलनाथ खनालले नयाँ पार्टी गठन गरे आफू त्यसमा जाने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।