काठमाडौं- नेपालले यस पटकको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजक तथा साविक विजेता माल्दिभ्ससँग खेल्दै सुरुवात गर्ने भएको छ।
५ राष्ट्रको सहभागिता रहने प्रतियोगिता असोज १५ गतेदेखि माल्दिभ्समा सुरु हुँदैछ। यस संस्करणमा आयोजक माल्दिभ्ससँगै नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहने छ।
यस संस्करणमा भुटान र पाकिस्तानको सहभागिता रहेको छैन। भुटानले कोरोना महामारीको कारण देखाउँदै नाम फिर्ता लिएको हो। यता, पाकिस्तान फुटबल भने फिफाको निलम्बनमा रहेको छ।
सन् २०१८ मा बंगलादेशमा भएको पछिल्लो प्रतियोगिताको सेमिफाइनलपछि नेपाल र माल्दिभ्सबीच पहिलो पटक भेट हुने पक्का भएको हो।
त्यतिबेला नेपाल माल्दिभ्ससँग ३–० ले पराजित भएको थियो। माल्दिभ्सकै राजधानी मालेमा हुने प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल श्रीलंकाविरुद्ध खेल्ने छ। खेल आसोज १७ गते हुनेछ।
त्यस्तै, तेस्रो खेल भारतसँग असोज २२ गते खेल्नेछ। असोज २४ गते नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। राउन्ड रोविन लिगको शीर्ष २ टोलीले असोज २७ गते उपाधिका लागि फाइनल खेल्नेछन्।
नेपालले अहिलेसम्म साफको सेमिफाइनल पार गर्न सकेको छैन। यति बेला नेपाली टोली दुई साता लामो प्रशिक्षण क्याम्पका लागि पोखरामा छ।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा प्रशिक्षण गरिरहेको टोलीबाट सोमबार मात्र तेस्रो चरणको छनोटमा ३८ सदस्यीय टोलीबाट २८ खेलाडी छनोट भएका थिए।
अनुभवी फरवार्ड भरत खवास, जर्जप्रिन्स कार्की, राजीव लोप्चन, संजोक राई, मिडफिल्डर विक्रम लामा र डिफेन्डर रञ्जित धिमाल साफ च्याम्पियनसिपको टोलीबाट बाहिरिएका छन्।
नेपालले साफ अगाडि भारतसँग भदौ १७ र २० गते दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ।
२८ सदस्यीय टोली :
किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, अभिषेक रिजाल, शिशिर लेखी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।