काठमाडौं- क्यामरुनमा अर्को वर्ष आयोजना हुने ३३औं संस्करणको ‘अफ्रिका कप अफ नेसन्स’ फुटबलको ‘ड्र’ सार्वजनिक गरिएको छ।
अफ्रिकन फुटबल महासंघले बुधबार ‘ड्र’ सार्वजनिक गरेको हो। ‘ड्र’ मा सहभागी २४ राष्ट्रलाई ६ समूहमा विभाजन गरिएको छ।
समूहमा विभाजनमा साविक विजेता अल्जेरिया समूह ‘ई’ मा परेको छ। यस समूहमा अल्जेरियासँगै आइभरीकोस्ट, सिएरा लियोन र इक्वेटोरियल गिनी रहेका छन्।
यता, आयोजक क्यामरुन समूह ‘ए’ मा रहेको छ। यस समूहमा बुर्किना फासो, इथिओपिया र केप भार्डे छन्।
यस्तै, समूह ‘बी’ मा सेनेगल, जिम्बावे, गिनिया र मालवी रहेका छन् भने समूह ‘सी’ मा मोरक्को, घाना, कोमोरोस र गाबोन छन्।
समूह ‘डी’ मा इजिप्ट, नाइजेरिया, सुडान र गिनी बिसाउ छन् भने समूह ‘एफ’ मा ट्युनिसिया, माली, मौरीटेनिया र गाम्बिया छन्।
अफ्रिकन फुटबल महासंघका अनुसार समूह चरणको खेलपछि समूह विजेता, उपविजेतासँगै तेस्रो हुने उत्कृष्ट चार टिम नकआउट चरणमा पुग्ने छन्।
प्रतियोगिता २०२२ को ९ जनवरीदेखि ६ फेब्रुअरीसम्म आयोजना हुनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।