काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ।
प्रतियोगितामा तीन बिभागीय टोलीहरु त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिससहित प्रदेश नम्बर ५ ले सेमिफाइनलमा स्थान बनाएका छन्।
टियू क्रिकेटम मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा प्रदेश ५ लाई ७ विकेटले हराउँदै नेपाल पुलिस समूह 'बी'को विजेताका रुपमा सेमिफाइनलमा पुग्यो । पराजयका बाबजुद प्रदेश ५ पनि सेमिफाइनलमा पुगेको छ ।
समूह ए बाट आर्मी र एपीएफ क्रमसः समूह विजेता र उपविजेता हुँदै सेमिफाइनलमा पुगिसकेका छन्।
शुक्रबारदेखि सुरु हुने सेमिफाइनल खेलहरुमा समूह ए को विजेता आर्मीले समूह बीको उपविजेता प्रदेश नम्बर ५ सँग खेल्नेछ। समूह ए को उपविजेता एपिएफले समूह बीको विजेता नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ ।
बुधबार टियू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्बर ५ ले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २०० रनको मध्यम योगफल बनाएको थियो। उसका लागि शंकर रानाले ४४, शौरभ खनालले ४२ ,राजबीर सिंहले २१ र सन्दीप सुनारले २० रन बनाए। त्यस्तै कृष्ण कार्कीले २६ रन बनाए। बलिङतर्फ पुलिसका ललित राजबंशीले २ बिकेट लिए।
२ सय १ रनको लक्ष्य पुलिसले दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकको सहयोगमा ४४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। पुलिसका ऐरी र आरिफ शेखले चौथो विकेटका लागि १ सय ४ रनको अविजित शतकीय साझेदारी गरेपछि सहज जित हासिल गरेको हो। ऐरीले ५३ बलमा ३ छक्का र २ चौकाको सहयोगमा ५८ रन बनाउँदा शेखले ५१ बलमा ३ छक्का र २ चौकाको सहयोगमा अविजित ४५ रन जोडे। यसअघि ओपनरहरु सुनील धमला र अमित श्रेष्ठले क्रमश: ३६ र ३० रन जोडेर आउट भएका थिए । त्यस्तै दिलिप नाथले पनि २४ रनको पारी खेले।
बलिङतर्फ प्रदेश ५ का सन्दिप सुनारले २ तथा लाल अधिकारीले १ विकेट लिए । दीपेन्द्र सिंह ऐरी खेलको म्याच अफ द म्याच चुनिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।