काठमाडौं– चौथो आरबिबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपमा एपिएफ र पुलिसले सेमिफाइनलमा स्थान बनाएका छन्। बुधबार भएको खेलमा एपिएफले पद्योदय युवा क्लब, चितवनलाई ३–१ को सेटमा हराउँदै दुई खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेको छ। एपिएफले पद्योदयबिरुद्ध २५–११, २५–१६, २०–२५, २५–५ को सेटमा हराए पछि ३ खेलबाट ९ अंक बनाएको छ।
बुधवार दोहोरो जित निकालेको पुलिसले चार खेलबाट ३ जित निकाल्दै ९ अंकका साथ सेमिफाईनलमा स्थान सुरक्षित गरेको छ। पुलिसले पहिलो खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सेटमा पराजित गरेको पुलिसले दोस्रो खेलमा पद्योदय युवा क्लव, चितवनबिरुद्ध ३–० कै सेटमा जित निकाल्यो।
पुलिसले जावलाखेलबिरुद्ध २५–७, २५–९ र २५–११ को जित निकालेको थियो। अर्को खेलमा पद्योदयलाई २५–१२, २५–१६ र २५–१६ को सेटमा हरायो। त्यस्तै शिवम् न्यू डायमण्डले त्रिभुवन आर्मीलाई ३–० को सेटमा पराजित गर्यो। बिभागीय टोलीबिरुद्ध न्यू डायमण्डले २५–२१, २५–१४ र २५–१८ को सेटमा जित हासिल गरेको हो। सेटर कृपा अधिकारीको भरपाई हुन नसक्दा न्युडायमण्ड दवावमा देखिन्थ्यो। यदपी पश्चिमान्चल भलिवल संघको टोलीमा खेल्दै आएका राष्ट्रिय खेलाडी मञ्जु गुरुङ र अरुणा शाहीको उपस्थितिले न्यू डायमण्ड टिम बलियो देखिएको छ। न्यू डायमण्डले ३ खेलबाट ६ अंक जोड्दै सेमिफाईनलको बाटो सहज बनाएको छ।
नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगिता ६ टिमको बीच राउण्ड रोबिन लिगका आधारमा संचालन गरिएको छ। लिग खेलमा उत्कृष्ट चार स्थान हाँसिल गर्ने टिमले सेमिफाईनलमा प्रवेश पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।