काठमाडौं- जनता समाजवादी पार्टीका सांसद् प्रदीप यादवले शेरबहादुर देउवा नेतृत्वको सरकार आगामी निर्वाचनमा पनि निर्वाचित भएर पाँच वर्षका लागि रहने बताएका छन्। बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले गठबन्धन कायमै रहने बताए।
'त्यस्तो साहसी प्रधानमन्त्रीलाई घोच्ने। हेप्ने? यस्तो कुरालाई अब जनताले माफ गर्ने छैन। यो सरकार अब १८ महिनाको होइन। यो सरकार पुनः पाँच वर्षको लागि निर्वाचित भएर यो गठबन्धनको सरकार फेरि आउँछ। यो हाम्रो वाचा छ', उनले भने।
उनले संसद्मा देउवा सरकारलाई पटकपटक परमादेशको सरकार भनिएकोमा पनि प्रतिवाद गरे। 'म संसद् हलमा जुहारी हेरिरहेको छु। यो सरकार परमादेशको सरकार, परमादेशको सरकार, परमादेशको सरकार। वाह! सुन्नमा गज्जब लागिरहेको छ। बोल्नमा सिपालु भएपछि जे पायो त्यही गर्न सकिन्छ', उनले ब्यंग्य गरे।
उनले आफूहरूले प्रतिगमन गरेको नभई प्रतिगमनलाई परास्त गरेको बताए। अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार संविधानको धारा ७६ (३) अनुसार गठन हुँदा पनि ७६ (४) अनुसार बहुमत सिद्ध गर्नुपर्ने भए पनि नगरेको उनको भनाइ थियो।
'तर, बहुमत नलिइकन निवर्तमान प्रधानमन्त्री ओलीले रणभूमि छाडेर भाग्नुभयो। राष्ट्रपतिसमक्ष हाम्रै पार्टीका फर्जी हस्ताक्षर गरेर पेश पनि गर्नुभयो', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।