काठमाडौं- नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले कालापानीसहितका क्षेत्र समेटिएको नक्सा सार्वजनिक भएपनि क्षेत्रफल कति हो भन्ने यकिन हुन नसकेको भन्दै तत्काल यसलाई टुङ्गाउन माग गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उनले संसद्बाट चुच्चे नक्सा जारी भएपनि नेपालको क्षेत्रफल कति हो भन्ने अन्योल हुँदा पठन पाठनमा समेत समस्या भइरहेको दाबी गरे।
‘कालपानीसहितको भूभाग नक्सामा आएपछि नेपालको क्षेत्रफल कति हो अन्योल भएको रहेको छ’, उनले भने, ‘विगतको सरकारले क्षेत्रफल घोषणा गर्न सकेन नयाँ सरकारले क्षेत्रफल घोषणा गरोस्।’
यसलाई छिट्टै गर्नुपर्ने अवस्था रहेको भन्दै उनले अद्यावधिक क्षेत्रफल कति हो भन्ने प्रक्षेपण हुन नसक्दा देशको क्षेत्रफल पनि अन्योलमा परेको दाबी गरे।
‘नक्सापछि छापिएको पुस्तक वितरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालोमा रोकिएको थियो’ उनले भने ‘नापी विभागलाई परिचालन गरेर नक्साको भूभाग कति हो सार्वजनिक गरोस्।’
उनले अफगानिस्तानको विषय सदनमा प्रवेश गरेको भन्दै तत्काल उद्धार गर्न माग गरे। बेलायतमा रहेका गोर्खा भर्तिको शोषण अन्त्य गर्न अनसन बसेकोप्रति सरकारले बेलायतसँग कूटनीतिक पहल गर्न पनि माग गरे। त्यस्तै, भूमि आयोग खारेज भएकाले अब तत्काल नयाँ गठन गर्न माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।