काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तान घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन्।
सोमबारको प्रतिनिधि सभाको बैठकको सुरुमै एमालेको तर्फबाट गोकुलप्रसाद बाँस्कोटाले सरकारको धारणा माग गरेका थिए।
'अफगानिस्तानको घटना के हो? क्रान्ति हो कि प्रतिक्रान्ति हो? हिंसा हो? आक्रमण हो कि प्रत्याक्रमण हो? हस्तक्षेप र प्रतिहस्तक्षेपका अनन्त शृंखलाहरुले थिलथिलो र खण्डहर भएको त्यहाँको जनताको सुख समृद्धि लोकतन्त्र आदिमाथिको समस्या हो? के हाम्रो देशको कुनै राष्ट्रिय अन्तर्राष्ट्रिय र हाम्रो परराष्ट्रको कुनै दृष्टिकोण छैन? यस विषयमा सरकारले स्पष्ट पार्नका लागि रुलिङ होस् भन्ने माग गर्न चाहन्छौं', उनले भनेका थिए।
त्यसपछि सभामुख सापकोटाले सरकारलाई निर्देशन दिएका हुन्। 'हालै अफगानिस्तानमा विकसित घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीहरुको प्रतिनिधि सभासहित मेरो गम्भीर ध्यानाकर्षण भएको छ। त्यहाँ रहेका नेपालीहरु सुरक्षित रहने वातावरण बनाउन र यथाशीघ्र सकुशल ल्याउने व्यवस्था गर्न र सो सम्बन्धी यथार्थ विवरण सभाको आगामी बैठकमा जानकारी गराउन नेपाल सरकारलाई निर्देशन गर्दछु', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।