काठमाडौं- नेकपा एमालेले अफगानिस्तान घटनामा सरकारको दृष्टिकोण माग गरेको छ। सोमबार प्रतिनिधि सभाको सुरुमै समय लिएर बोलेका गोकुल बाँस्कोटाले त्यसबारे जानकारी दिन सरकारलाई रुलिङ गर्न सभामुखसमक्ष माग गरे।
'अफगानिस्तानको घटना के हो? क्रान्ति हो कि प्रतिक्रान्ति हो? हिंसा हो? आक्रमण हो कि प्रत्याक्रमण हो? हस्तक्षप र प्रतिहस्तक्षपका अनन्त शृंखलाहरुले थिलथिलो र खण्डहर भएको त्यहाँको जनताको सुख समृद्धि लोकतन्त्र आदिमाथिको समस्या हो? के हाम्रो देशको कुनै राष्ट्रिय अन्तर्राष्ट्रिय र हाम्रो परराष्ट्रको कुनै दृष्टिकोण छैन? यस विषयमा सरकारले स्पष्ट पार्नका लागि रुलिङ होस् भन्ने माग गर्न चाहन्छौं', उनले भने।
बाँस्कोटाले सबै देशले आफ्नो नागरिक फिर्ता लैजाने तयारी गर्दा पनि नेपाल सरकारले भने केही थाहा नपाएजस्तो गरेर बसेको बताए। उनले अफगानिस्तानमा रहेका नेपाली नागरिकको रक्षा हुनुपर्ने बताए। 'त्यहाँ रहेका नागरिकहरुको रक्षा हुनुपर्दछ। तिनको फिर्तीको व्यवस्था मिलाइनुपर्दछ। र कुनै प्रतिबद्धताले पुग्दैन', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।