काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पुरानै प्रवृत्तिलाई निरन्तरता दिने हो भने पार्टीलाई भत्काइदिनु उचित हुने बताएका छन्।
पार्टीको केन्द्रीय समिति बैठक समापन गर्ने क्रममा आइतबार प्रचण्डले नेताहरुले आफ्नो व्यवहार, चरित्र र संस्कार परिवर्तन गर्नुपर्ने बताए। त्यसरी परिवर्तन नगरेर पुरानै प्रवृत्ति दाहोर्याउने हो भने माओवादी पार्टी भत्काउनुपर्ने उनले बताएका हुन्।
'हामीलाई जहिलै सत्ता नै चाहिने भयो। कुनै सुविधाको पद वा मन्त्री चाहिन्छ भन्ने प्रवृत्ति हावी हुँदै गएको छ। यस्तो खालको प्रवृत्तिले अन्ततोगत्वा सामाजिक फासीवादी कम्युनिस्टको दिशातिर जान्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘पुरानै प्रवृत्तिको निरन्तरता हो भने यो पार्टी भत्काइदिउँ, किन राख्नुपर्यो?’
अन्तर्राष्ट्रिय कम्युनिस्ट संगठनलाई कार्ल मार्क्सले भत्काएको उदाहरण दिँदै प्रचण्डले यसरी भत्काउँदा नराम्रो नहुने बताए। जनतालाई दु:ख दिने, घाँडो हुने तर, पुरानै खालको प्रवृत्ति थपिँदै जाँदा समस्या बढ्दै जाने उनले बताए। ‘हामी मुखले मात्रै होइन व्यवहारमा रुपान्तरण हुन जरुरी छ। मुख्यगरी ब्रेक गर्ने विन्दु खोजिराखिएको छ,’ ती केन्द्रीय सदस्यले भने,‘विचार, नीति, रणनीति र कार्यनीतिका विषयमा सबै स्पष्ट हुनुपर्छ। पुरानै प्रवृत्तिलाई निरन्तरता दिने र आफू नबद्लिने हो भने यो पार्टीको काम छैन।’
अब माओवादी पार्टीको एउटै मात्रै सम्भावना यो पार्टीलाई रुपान्तरण गरेर बदल्ने विकल्प भएको प्रचण्डले प्रस्ट पारे।
‘यो पार्टीमा जुन लिगेसी बोकेर आएको लिडरसिप हो, त्यही लिडरसिपले मात्रै रुपान्तरण गर्न सम्भव छ। हामीले प्रतिबद्धता देखायौँ भने सम्भव छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘अरु आएर गरिदिएर हुनेवाला छैन। पहिलो आधार पार्टीलाई रुपान्तरण गरेर जीवन खोज्ने हो।’ प्रतिगमनले बेला-बेलामा टाउको उठाउने गरेको उल्लेख गर्दै प्रचण्डले अहिलेको लोकतान्त्रिक गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने बाध्यता रहेको बताए। अर्कोतिर विचार, संगठन र आचारणसहित रुपान्तरण गरे वाम एकतालाई समेत जोडेर जानुपर्ने उनको भनाइ थियो।
‘पार्टीमा रुपान्तरणको खाँचो छ। हाम्रो पार्टीको संस्कार र संकृति बुर्जुवा पार्टीमाभन्दा केही फरक देखिएन। त्यो देखिनेगरी काम गर्नुपर्यो। त्यसमा समस्या छन्। त्यसमा आत्मसमीक्षा गर्नुपर्ने छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै अर्का केन्द्रीय सदस्यले भने, ‘आउने चुनावसम्म मुख्य शक्तिको रुपमा आउँछौ। एक नम्बर पार्टी हुने सम्भवना छ।’ माओवादी पार्टी सुदृढीकरण गर्ने, वाम लोकतान्त्रिक गठबन्धनलाई मजबुत बनाउने, तेस्रो प्रगतिशील वामपन्थी शक्तिहरुको ध्रुवीकरण र एकताको कामलाई अगाडि बढाउनुपर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।