काठमाडौं- जर्मनी तथा बायर्न म्युनिखका लेजेन्ड फुटबलर गर्ड मुलरको निधन भएको छ। उनको ७५ वर्षको उमेरमा आइतबार निधन भएको हो।
मुलरले तत्कालिन पश्चिम जर्मनीको सिनियर राष्ट्रिय टोलीबाट ८ वर्ष खेलेका थिए। सो अवधिमा उनले ६८ खेलमा ६२ गोल गरेका थिए भने सन् १९७४ को विश्वकप फाइनलमा नेदरल्यान्ड्सविरुद्ध विजयी गोल गरेका थिए।
उनले १९७० मा आयोजित विश्वकपमा १० गोल गरेका थिए। उनी एकै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्।
उनीले दुईवटा विश्वकपमा १४ गोल गर्दै सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका थिए। उनको तोडिन ३२ वर्ष पछि अर्थात२००६ मा ब्राजिलका रोनाल्डोले तोडेका थिए। उनले १५ गोल गरेका थिए।
मुलरले बायर्न म्युनिखबाट १५ वर्ष बुन्डेस लिगा खेलेका थिए। सो अवधिमा उनले ४२७ खेल खेल्दा ३६५ गोल गरेका थिए। उनले चार लिग र तीन युरोपियन कपको उपाधि उचालेका थिए। उनले समग्रमा बायर्नका लागि ६ सय ५ खेल खेल्दै ५ सय ६३ गोल गरेका छन्।
उनले बुन्डेस लिगाको एकै सिजन सर्वाधिक गोलको कीर्तिमान पनि बनाएका थिए। जुन गत सिजन रोबर्ट लेवान्डोस्कीले तोडेका थिए।
१९८२ मा मुलर खेलाडी जीवनबाट अलग भएपछि उनी मदिराको कुलतमा फसेका थिए। उनलाई पुनर्स्थापना केन्द्रमा समेत राख्नु परेको थियो। पछि बायर्न म्युनिखको दोस्रो डिभिजन क्लबमा उनलाई प्रशिक्षको जिम्मेवारी समेत दिइएको थियो।
तर, सन् २०१५ मा भएको उपचारका क्रममा उनलाई अल्जाइमर देखिएको थियो। त्यसपछि उनलाई विशेष खालको केयर होममा राखिएको थियो। आइतबार क्लबले विज्ञप्ति निकाल्दै उनको निधनमा दु:ख व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।