काठमाडौं- यार्सागुम्बा लुटपाटमा संलग्न भएको आरोपमा सात जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नयाँ बसपार्कमा भएको यार्सागुम्बा लुटपाटमा संलग्न भएको आरोपमा सात जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बझाङ मस्टा गाउँपालिका-५ का ३४ वर्षीय धर्म ओखडा, दोलखाको बैतेश्वर गाउँपालिका-२ का ३२ वर्षीय मनोजकुमार श्रेष्ठ, रामेछापको दोरम्बा गाउँपालिका-४ का दीपक थापामगर, काभ्रेको पाँचखाल नगरपालिका-१२ का २७ वर्षीय विशाल लामा, काभ्रेको तिमाल गाउँपालिका-४ का २३ वर्षीय योङ्देन लामा, रामेछापको दोरम्बा-२ का २२ वर्षीय रोशन श्रेष्ठ र भारत कास्मिर आबुपाकरका ३७ वर्षीय मोहम्मद इसाक छन्।
साउन २४ गते दिउँसो साढे २ बजेतिर सिन्धुपाल्चोक बाह्रबिसेका दीपक लामा र बलेफीका सुरेश सापकोटासँग भएको एक किलो यार्सागुम्बा २८ लाख रुपैयाँमा किन्ने भनेर यो समूहले लुटपाट गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए।
२८ लाखमा किन्ने भनेर गणेश शाहीले फोन गरेर नयाँ बसपार्कस्थित एक होटलमा उनीहरुलाई बोलाएका थिए। त्यसपछि उनीहरु सात जना मिलेर उक्त यार्सागुम्बा लुटिइएको थियो। यार्सागुम्बा लुटिएर फरार रहेका उनीहरुलाई काठमाडौंका विभन्न स्थानबाट शनिबार प्रहरीले पक्राउ गरेको हो। उनीहरुबाट सात किलो ४४० ग्राम यार्सागूम्बा बरामद भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।