काठमाडौं- लुम्बिनी प्रदेश सभा सदस्य अजय शाहीले एमालेलाई स्पष्टीकरणको जवाफ फर्काएका छन्। आइतबार उनले दिएको जवाफमा आफूलाई एमालेको ह्विप नलाग्ने बताएका छन्।
'म नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) निर्वाचन क्षेत्र १ 'ख'बाट स्वतन्त्र रुपमा निर्वाचित प्रदेश सभा सदस्य हुँ। म आबद्ध रहेको स्वतन्त्र राजनीतिक समूह र तत्कालीन नेकपा (एमाले) बीच भएको २ (दुई) सम्झौता/सहमति अनुसार मैले सूर्य चुनाव चिह्न प्रयोग गरेर स्वतन्त्र रुपमै निर्वाचनमा होमिएर निर्वाचित भएको सबैमा जानकारी गराउँदछु। मैले नेकपा (एमाले) पार्टीको सदस्यता लिएको छैन। तसर्थ मलाई राजनैतिक पार्टीको ह्विप लाग्दैन,' उनले भने।
शाहीले आफूले प्रदेश तथा प्रदेशका जनताप्रति पूर्ण उत्तरदायी हुनेगरी कामको जिम्मेवारी बोध गरिरहेको बताएका छन्। 'स्वतन्त्र रुपमा निर्वाचित प्रदेश संसद्लाई कुनै पार्टी विशेषको ह्विप नलाग्ने कुरा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले व्यवस्था गरेको समेत स्पष्ट गर्न चाहन्छु,' उनले भनेका छन्।
हृदयश त्रिपाठी समूहबाट निर्वाचित शाहीले लुम्बिनी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री कुलप्रसाद केसीलाई साथ दिँदै मन्त्री बनेका छन्। उनलाई एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले साउन २८ गते स्पष्टीकरण सोधेका थिए। उनले एमालेको चुनाव चिह्न सूर्यबाट निर्वाचित भएको र एमाले संसदीय दलको सदस्यको रुपमा बैठकमा भाग लिने गरेको र आफ्नो गतिविधि गरिरहेको स्मरण गराएका थिए। उनले विभिन्न प्रश्न उठाउँदै तीन दिनभित्र जवाफ दिन भनेका थिए। अन्यथा कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी पनि दिएका थिए।
प्रदेश सभा सदस्य शाहीले जवाफ।
एमाले र त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहबीच २०७४ असोज १६ गते दुई बुँदे सहमति भएको थियो। जसमा एमालेको तर्फबाट ईश्वर पोखरेल र स्वतन्त्र राजनीतिक समूहको तर्फबाट हृदयश त्रिपाठी, विके गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदिश शुक्लाले हस्ताक्षर गरेका थिए।
सहमतिको पहिलो बुँदामा भनिएको थियो- स्वतन्त्र राजनीतिक समूहका नेता तथा कार्यकर्ताहरु आगामी प्रतिनिधि सभा, प्रदेश सभा तथा राष्ट्रिय सभाको निर्वाचनमा सूर्य चिह्न लिएर सहभागी हुनुहुनेछ। स्वतन्त्र समूह स्वतन्त्र पहिचानका साथ क्रियाशील रहनेछ।
एमालेको प्रदेश संसदीय दलले प्रदेश सभा सदस्य शाहीलाई सोधेको स्पष्टीकरण।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।