काठमाडौं- माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रस्तावमाथि छलफल गर्न गठित आठ वटै समूहले आफ्नो रिपोर्ट बुझाएका छन्। शनिबार २ बजेदेखि आइतबार ११ बजेसम्मको समय पाएका समूहहरुले आन्तरिक छलफलपछि केन्द्रीय समितिलाई रिपोर्ट बुझाएका हुन्।
'अहिलेसम्म आठवटै समूहको छलफलको रिपोर्ट केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएको छ। अब अहिले स्थायी कमिटीको बैठक बस्दै छ। स्थायी कमिटीको बैठकले रिपोर्टमा प्रस्तुत भएका विभिन्न सुझाव र जिज्ञासाहरुलाई सम्बोधन गर्ने बारेमा छलफल गर्दै छ,' माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।
स्थायी कमिटीको बैठकपछि रिपोर्टहरुमा स्पष्टीकरण दिने र प्रस्तावहरुलाई एउटा निष्कर्षमा पुर्याउने काम हुने श्रेष्ठले बताए।
आवश्यक निर्णय गरेर आज नै केन्द्रीय समितिको बैठक समापन गर्ने तयारी रहेको उनले बताए।
शनिबारदेखि प्रारम्भ भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन र विधान संशोधन मस्यौदा प्रस्ताव प्रस्तुत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।