काठमाडाैं– नेपाली कांग्रेसले पालिका अधिवेशनमा नयाँ व्यवस्था गरेको छ। विधानको यसअघिको व्यवस्था हटाएर मतदाताको व्यवस्थालाई संशाेधन गरेको छ। विधानमा रहेको ‘गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण नेपाली कांग्रेसको गाउँपालिका क्रियाशील सदस्य गाउँपालिका सदस्य हुनेछन्’ भन्ने व्यवस्थालाई हटाइएको छ।
गाउँपालिका अधिवेशनका र नगर/उपमहानगर/महानगरपालिका क्षेत्रभित्रका नेपाली कांग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य हुने व्यवस्था पनि संशाेधन गरिएको छ।
गाउँपालिकाको अधिवेशनका मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने भएका छन्। गाउँपालिकाभित्रका सबै क्रियाशील सदस्यता मतदाता हुन नपाउने भएका छन्। साथै, नगरपालिका क्षेत्रभित्रबाट प्रतिनिधि चयन गर्दा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मतदाता बन्ने भएका छन्।
गाउँ/नगरमा वडा अधिवेशनमा क्रियाशील सदस्य रहेका सबैजना मतदाता हुने व्यवस्था थियो। पदाधिकारीमा प्रतिस्पर्धी भने उक्त संरचनाकै क्रियाशील सदस्यबाट हुनेछन्। क्रियाशील सदस्यको संख्या धेरै हुँदा भिडभाड हुने भएकाले मतदान स्थलमा थोरै उपस्थित गराउनका लागि पनि संसोधन गरिएको बताइएको छ।
कांग्रेसको शनिबार सकिएको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।