काठमाडौं– नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपलाई ख्याल गर्ने हो भने श्रीमान–श्रीमतीको समेत डिभोर्स हुने बताएका छन्। उनले आफूलाई सहनै नसकिने आरोप लगाएको उल्लेख गर्दै यस्तो बताएका हुन्।
शनिबार आफू पक्षीय बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलामा उनले भने, ‘उहाँले बोलेका कुरा ख्याल गर्ने हो भने श्रीमान्–श्रीमतीको समेत डिभोर्स हुन्छ। उहाँले गद्दार, देशद्रोही, अनुशासनहीन, काम नलाग्ने मान्छे, के छ हैसियत? प्रचण्डको कारिन्दा जस्ता शब्दको प्रयोग गरिसक्नुभयो।’
आफ्नो स्वभिमानमाथि आँच आएको बताउँदै नेपालले प्रश्न गरे, ‘मान्छेको स्वभिमान भन्दा ठूलो कुरा केही हुन्छ? समाजमा मान्छे किन बाँच्छ? अपमानित भएर बाँच्न सक्छ?
आफूहरु विभेद र अपमान विरुद्धमा विद्रोहको शंख बजाउँदै राजनीति यात्रामा अघि बढेका बताउँदै सहन नसकिने नेपालले संकेत गरे।
उनले यस्तो अवस्थामा आइपुग्दा पनि ओलीमा पश्चातापबोध नरहेको बताए। उनले भने, ‘केपी ओलीमा अहिले पनि पश्चाताप बोध छैन। अब त घैंटोमा घाम लाग्ला भन्यो, बालुवाबाट तेल निस्किएला कि भन्यो तेल निस्किदैन।’
पार्टी उपाध्यक्ष बामदेव गौतम र अन्य केही आफ्ना निकटस्थहरु अझै बालुवा पेलिरहेको नेपालले बताए। उनले भने, ‘बामदेव कमरेड अझै बालुवा पेल्दै हुनुहुनुहुन्छ, हाम्रा कमरेड अझै लागिराख्नुभएको छ।’
आफू कमलो मन बनाएर हदैसम्म लचिलो भएको उनको भनाइ छ। तर, ओलीको बालुवा असाध्यै सुख्खा भएकाले तेल ननिस्किएको नेपालको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।