काठमाडौं- च्याम्पियन्स लिग विजेता चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ।
शनिबार घरेलु मैदानमा भएको खेलमा क्रिस्टल प्यालेसलाई ३-० गोल अन्तरले पराजित गर्दै चेल्सीले उत्कृष्ट सुरुवात गरेको हो।
स्टामफोर्ड ब्रिजमा खेलको सुरुवातदेखि नै आक्रमक देखिएको चेल्सीलाई जित दिलाउन मार्कोस अलन्सो, क्रिस्टियन पुलिसिच र ट्रिभो चालोबाहले एक/एक गोल गरे।
खेलको २७ औं मिनेटमा अलन्सोले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए। टेरिक मिट्चेलले मासन माउन्टलाई फल गरेपछि प्राप्त फ्रिकिकलाई अलन्सोले गोलमा परिणत गरेका थिए।
यस्तै, ४०औं मिनेटमा पुलिसिचले गोल गर्दै अग्रता २-० मा पुर्याए। मेसन माउन्टले एज्पिलिक्वेटा दिएको क्रस पासलाई पुलिसिसले जाली चुमाएका थिए।
दोस्रो हाफको ५८औं मिनेटमा चालोबाहले गोल गर्दै चेल्सीलाई ३-० को सहज जित दिलाए। उनले माटियो कोभासिसको पासमा पेनाल्टी क्षेत्र बाहिरबाट शक्तिशाली प्रहारमा गोल गर्न गरेका थिए।
जितसँगै अंक तालिकामा दोस्रो स्थानमा रहेको चेल्सीले महत्वपूर्ण तीन अंक जोडेको छ। क्रिस्टलले भने हारबाट सिजनको सुरुवात गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।