काठमाडौं- म्यानचेस्टर युनाइटेडले सानदार जितसहित इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको सुरुवात गरेको छ।
शनिबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको सिजनको पहिलो खेलमा लिड्स युनाइटेडलाई ५-१ गोल अन्तरले पराजित गर्दै युनाइटेडले उत्कृष्ट सुरुवात गरेको हो।
युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले ह्याट्रिक पूरा गरे। यस्तै, मासन ग्रीनउड र फ्रेडले एक/एक गोल गरे। लिड्सका लुक आयलिङले सानत्वना गोल फर्काए।
युनाइटेडका लागि पाउल पोग्बा एक्लैले ४ असिस्ट गरेका थिए भने भिक्टर लेन्डीलोफले एक गरे।
खेलको ३०औं मिनेटमा पोग्बाको पासमा ब्रुनोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए। ४८औं मिनेटमा लुकले गोल गर्दै लिड्सलाई १-१ को बराबरीमा फर्काए।
त्यसपछि ५२औं मिनेटमा पोग्बाको पासमा ग्रीनउडले गोल गर्दै युनाइटेडलाई २-१ को पुनस् अग्रता दिलाए।
त्यसको दुई मिनेटमै ब्रुनोले पोग्बाकै पासमा व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ३-१ को अग्रता दिलाए।
६०औं मिनेटमा भिक्टर लेन्डीलोफको पासमा ब्रुनोले ह्याट्रिक पूरा गरे। उनी यस सिजन ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्।
त्यसको ८ मिनेटमा फ्रेडले पोग्बाको पासमा गोल गर्दै युनाइटेडलाई ५-१ को सानदार जित दिलाए।
जितसँगै तालिकाको शीर्ष स्थानमा रहेको युनाइटेडले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ। लिड्सले भने हारबाट नयाँ सिजनको सुरुवात गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।