काठमाडौं- नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य देवी खड्काले द्वन्द्वकालमा यौनजन्य हिंसामा परेका महिलाहरुको रेकर्ड राखेर राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेकी छिन्।
पार्टी केन्द्रीय समितिको समूहगत छलफलमा आफ्ना कुरा राख्ने क्रममा खड्काले यौनजन्य हिंसामा परेका महिलाहरुको रेकर्ड राखेर पीडकलाई कारबाही गर्नुपर्ने बताएकी हुन्।
‘राज्यद्धारा हिरासतमा लिइएका त्यसमा पनि यौनजन्य यातनामा परेका महिलाहरु देशभर ५०० को संख्यामा छन्। तीमध्ये केही घटनाहरु बाहिर आए। कतिपयले भित्र लुकाएर पीडा भोगिरहुनुभएको छ,’ खड्काले भनिन्, ‘पार्टी भनेको अभिभावक हो, त्यसलाई अभिलेखीकरण गरेर रेकर्डमा ल्याउनुपर्यो।’
रेकर्डमा नल्याउनु भनेको हिजोको सामान्ती समाजलाई निरन्तरता दिनु भएको भन्दै तत्काल पार्टीले रकेर्डमा ल्याउने व्यवस्था गर्नुपर्ने उनले बताइन्। ‘हिजोको समाजमा महिला बलात्कृत हुँदा कसैले थाहा नपाइदिए हुन्थ्यो। त्यसलाई लुकाएर छिपाएर राख्न पाए हुन्थ्यो भन्ने खालको थियो,’ खड्काले भनिन्, ‘तर, पार्टीले त्यस्ता घटनालाई नराम्रो दृष्टिकोणले नहेरे पनि रेकर्डमा नल्याउँदा ढाकछोप पार्न खोज्या जस्तै भयो। त्यसैले रेकर्डमा ल्याएर पीडकलाई कारबाही, पीडितलाई राहत र उपचारको व्यवस्था गर्नुपर्यो।’
द्वन्द्वकालमा यौनजन्य हिंसामा परेका महिलालाई सहानुभूति र सम्मानको व्यवस्थासँगै उपचार र क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने उनले माग गरिन्।
यस्तै द्वन्द्वकालमा सहिद र बेपत्ता भएका आठ हजार व्यक्तिको मन्त्रिपरिषद्बाट राष्ट्रिय सहिदको रुपमा पारित भए पनि त्यसलाई तत्काल राजपत्रमा प्रकाशित गर्नुपर्ने खड्काले माग गरिन्। ‘द्वन्द्वकालमा सहिद र बेपत्ता भएका आठ हजार व्यक्तिको नाम मन्त्रिपरिषद्बाट पारित भयो। राजपत्रमा छाप्न नसकिँदा राष्ट्रिय सहिदको परिभाषाभित्र परेका छैनन्,’ खड्काले भनिन् ‘अहिले माओवादीसहितको गठबन्धनको सरकार छ। यतिबेला द्वन्द्वका सहिद र बेपत्तालाई राष्ट्रिय सहिदको रुपमा राजपत्रमा प्रकाशित गर्न पार्टीले पहल गर्नुपर्यो।’
यसैगरी द्वन्द्वका घाइतेहरुको केही मात्रामा अभिलेख राखिएको भए पनि त्यसलाई पार्टीले व्यवस्थित रुपमा राख्ने व्यवस्था गर्नुपर्ने खड्काले बताइन्। द्वन्द्वका कस्ता घाइतेलाई कस्तो खालको राहत र व्यवस्थापन गर्ने भन्नेमा पार्टीले ध्यान दिनुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।