काठमाडौं- नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा सदस्यहरुलाई आठ वटा समूहमा विभाजन गरेर छलफल सुरु भएको छ। आठ वटै समूहलाई भोलि बिहान ११ बजेसम्मको लागि समय दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
'अहिलेदेखि भोलि बिहान ११ बजेसम्म समूह छलफलका लागि समय दिइएको छ। भोलि बिहान ११ बजे पुनः केन्द्रीय कमिटीको बैठक बस्ने छ। त्यो बैठकमा सबै समूहहरुबाट छलफलको निष्कर्षको रुपमा रिपोर्ट प्रस्तुत गरिनेछ', श्रेष्ठले भने।
आजको बैठकको सुरुवातमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकको अजेन्डा प्रस्तुत गरेका थिए। जुन पारित गरिएको छ। जसमा पहिलो, अध्यक्ष प्रचण्डद्वारा अहिलेसम्मको राजनीतिक परिस्थितिको जानकारी बैठकलाई गराउने।
दोस्रो, अध्यक्षद्वारा नै राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने। तेस्रो, राजनीतिक प्रतिवेदन तथा विधान मस्यौदामाथि छलफल गर्न विभिन्न समूहमा विभाजित गर्ने, समूह विभाजित भएर छलफल गर्ने र रिपोर्ट प्रस्तुत गर्ने।
संगठनात्मक विषयहरुमा छलफल गर्ने र आवश्यक निर्णयहरु लिने। र, विविधमा समसामयिक प्रस्तावहरु सहित अन्य विषयहरुमा छलफल गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।