क्यानबेरा– अष्ट्रेलियाली क्रिकेट टिमका प्रमुख कार्यकारी जेम्स सथरल्यान्डले आज आफ्नो पद छोड्ने घोषणा गरेका छन्। १७ वर्षदेखि अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टिमसँग आवद्ध सथरल्यान्डले आफ्नो पद छोड्ने यो उपर्युक्त समय भएको बताएका छन्।
उनले केही महिनाअघि बल टेम्परिङका कारण अष्ट्रेलियाली टोली विवादित रहेको घटनासँग आफ्नो राजिनामा नजोडिएको प्रष्ट पारेका छन्। दक्षिण अफ्रिकासँगको टेष्ट म्याचका दौरानमा बल टेम्परिङ गरेको पुष्टि भएपछि तत्कालिन कप्तान स्टिभ स्मिथ, उपकप्तान डेभिड वार्नर र क्यामरुन ब्यांक्रफ्टलाई टिमबाटै बर्खास्त गरिएको थियो।
राजिनामाको घोषणा गरेपनि उनको स्थानमा अर्को व्यक्ति पदबाहली नहुँदासम्म उनी बढीमा एक वर्षसम्म अष्ट्रेलियाली टिमसँगै आवद्ध रहनेछन्।
बुधबार पत्रकारहरुसँग कुरा गर्दै उनले भने,‘मैले निकै सहज महशुष गरिरहेको छु। यो कदम मेरो आफ्नै लागि र अष्ट्रेलियाको क्रिकेटका लागि पनि निकै उपयुक्त समयमा आएको छ भन्ने मेरो ठम्याई छ।’
‘मैले विगत लामो समयदेखि केही सोचिरहेको छु। आगामी १२ महिनाभित्रमा हामीले निकै ठूला–ठूला कार्यहरु सम्पादन गर्नुपर्नेछ।’, सथरल्यान्डले आफ्नो भावी लक्षका बारेमा सुनाए।
आफ्नो कार्यकालको दौरानमा उनले डे–नाइट टेस्ट म्याच तथा अत्याधिक सफल मानिएको २० ओभरको शृंखला बिग बास लिगको आयोजना गरेका थिए। पछिल्लो समयमा उनले अष्ट्रेलियाको क्रिकेट टिमका लागि नयाँ रणनीतिहरुसमेत अख्तियार गरिरहेका छन्। जसमा खेल प्रशारणको लागि टेलिभिजन सर्वाधिकार सम्झौता तथा पुरुष र महिला दुवै क्रिकेटरले पाउने तलब सुविधाको सम्झौता आदि पर्दछन्।
पछिल्लो केही समयमा अष्ट्रेलियाली टोली निकै कठिन अवस्थाबाट गुज्रिरहेको र संवेदनशिल अवस्थामा पनि उनले टोलीको सफल अध्यक्षता गरिहेको क्रिकेट विश्लेषकहरुले बताउने गरेका छन्।
सन् २०१७ मा तलब सुविधाको विवादलाई लिएर केही क्रिकेटरहरुले खेल नखेल्नेसमेत धम्की दिएका थिए। त्यस्तै गत मार्चमा मात्रै दक्षिण अफ्रिकासँगको टेष्ट म्याचका दौरानमा बल टेम्परिङ गरेको खुलासा भएपछि अष्ट्रेलियाली टोली विवादमा फसेको थियो।
सोही घटनापछि प्रशिक्षक ड्यारेन लेहम्यानले समेत राजिनामा दिएका थिए। केही क्रिकेट पर्यवेक्षकहरुले टोलीको यस संकटलाई बिस्तारै समाधान गर्दै लैजान तथा प्रमुख कार्यकारीको रुपमा गल्तीको जिम्मेवारी लिन समेत उनलाई सुझाएका थिए। तर उनको कार्यशैलीलाई लिएर अष्ट्रेलियाली क्रिकेट बोर्डले बचाउ गरेकोले उनले आफ्नो कार्य सम्पादनप्रति पूर्णरुपमा विश्वास रहेको बताएका थिए।
क्रिकेट अष्ट्रेलियाका अध्यक्ष डेभिड पिवरले खेलमा चौतर्फी रुपमा परिवर्तन ल्याउन सथरल्यान्ड सक्षम रहेको प्रतिक्रिया दिएका छन्।
पूर्व फस्टक्लास क्रिकेट खेलाडी तथा लेखााल रहिसकेका सथरल्यान्ड सन् १९९८ मा अष्ट्रेलियाली टोलीमा आवद्ध भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।