काठमाडौं- स्पेनिस ला लिगा, इंग्लिस प्रिमियर लिग र जर्मन बुन्डेसलिगाको नयाँ सिजन आज (शुक्रबार) देखि सुरु हुँदैछ। नयाँ सिजन २०२१–२२ अन्तर्गत आज तीनै लिगमा एक एक खेल हुनेछ।
लालिगाको पहिलो खेलमा गत सिजन १३औं स्थानमा लिग सकाएको भ्यालेन्सियाले घरेलु मैदानमा १५औं स्थानको गेटाफेको सामना गर्नेछ। मेस्टाल्ला रंगशालामा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ।
कोरोना प्रोटोकलका कारण ४० प्रतिशत अर्थात् २० हजार दर्शकले रंगशालामा पुगेर खेल हेर्न पाउनेछन्। ला लिगा १७ वर्षपछि पहिलो पटक सुपर स्टार लिओनल मेस्सीबिना सञ्चालन हुन लागेको हो।
क्याटलाना क्लब बार्सिलोनाले आर्थिक संघर्षका कारण मेस्सीलाई राख्न नसकेपछि उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा अनुबन्ध भइसकेका छन्। बार्सिलोनाले नयाँ सिजनको पहिलो खेल आइतबार रियल सोसिडाडसँग घरेलु मैदानमा हुनेछ। यस्तै रियल मड्रिडले अलाभेजसँग खेल्ने छ।
साविक विजेता एट्लेटिको मड्रिडले सेल्टा भिगोसँग खेल्दै सिजनको सुरुवात गर्नेछ।
यता, इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा लन्डन क्लब आर्सनलले आज नव प्रवेशी ब्रेन्टफोर्डको सामना गर्दैछ। खेल नेपाली समयअनुसार राति १२:४५ बजे ब्रेन्टफोर्डको घरेलु मैदानमा हुनेछ।
गत सिजन म्यानचेस्टर सिटीले उपाधि जित्दा आर्सनलले आठौं स्थानमा लिग सक्काएको थियो। ब्रेन्टफर्ड भने गत सिजन च्याम्पियनसिपको प्लेअफ जितेपछि प्रिमियर लिगमा उक्लिएको हो।
पहिलो राउन्डअन्तर्गत शनिबार म्यानचेस्टर युनाइटेडले लिड्स, चेल्सीले क्रिस्टल प्यालेस र लेस्टर सिटीले वल्भ्ससँग प्रतिस्पर्धा गर्नेछ। यता, लिभरपुलले नर्विच, एभर्टनले साउथह्याम्टन, वाट्फोर्डले एस्टन भिल्ला र बर्नलेले ब्राइटनसँग खेल्नेछ।
तेस्रो दिन आइतबार न्यु क्यासल र वेस्ट ह्याम तथा टोटेनहम र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ। यस्तै, जर्मन बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमा गत सिजनको च्याम्यिन बायर्न म्युनिखले बोरुसिया मोन्चेनग्लाडवाकसँग उसकै मैदानमा खेल्दै छ।
खेल बोरुसिया पार्कमा नेपाली समयअनुसार १२:१५ बजे हुनेछ। यी दुई टोलीको पछिल्लो २८ खेलमा बायर्न ११ खेलमा विजयी भएको छ।
९ खेल मोन्चेनग्लाडवाकले जितेको छ भने ८ खेल बराबरीमा सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।