काठमाडौं– नक्कली प्रहरी बनेर पैसा माग्दै कुटपिट गरेको आरोपमा दुई जनालाई झापा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको कन्काई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ का ३२ वर्षीय टीका खत्री छन्।
साउन ११ गते उनीहरु नयनसरी राजवंशीको घरमा गएर सादा पोशाकका प्रहरी भएको बताउँदै धम्की दिएका थिए। नयनसरीलाई उनीहरुले आफूहरु प्रहरी भएकाे बताउँदै ‘तपाईको छोराले लागु औषध खाने र बेच्ने गरेको रैछ, अब छोरालाई जोगाउने हो भने २० हजार दिनु नभए मुद्दा हाल्छौं’ भन्दै धम्क्याएको झापाका प्रहरी प्रवक्ता राकेश थापाले बताए।
त्यसपछि उनीहरुले नयनसरीको साथमा भएको ११ हजार रुपैयाँसमेत लिई बाँकी पैसा लिन पछि आउने बताउँदै फर्केका थिए।
साउन १४ गते राति साढे ९ बजेतिर पुन: नयनसरीको घरमा गई उनका छोरा २० वर्षीय विशाललाई बाहिर बोलाएर हामी एउटा मिसनमा आएको हौं किन गाउँका मान्छेलाई बोलाएर हल्ला गरेको भन्दै कम्मरको बेल्ट खोली कुटपिट गरेका थिए।
यसरी प्रहरी बनेर पैसा लिने र उल्टै कुटपिट गरेपछि नयनसरी परिवारले इलाका प्रहरी कार्यालय अनारमणिमा साउन २२ गते उजुरी गरेका थिए। त्यसपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हाे। उनीहरु दुबै जना विरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।