काठमाडौं- बेल्जियन फरवार्ड रोमेलु लुकाकु सात वर्षपछि इंग्लिस क्लब चेल्सी फर्किएका छन्। इटालियन च्याम्पियन इन्टर मिलान छोडेर लुकाकु आफ्नै पूर्व क्लब फर्किएका हुन्।
लुकाकुले चेल्सीसँग व्यक्तिगत सम्झौतामा सहमति गरेपछि इन्टरले ट्रान्सफर रकमबारे छलफल गरेको थियो।
चेल्सीले लुकाकुका लागि ९७.५ मिलियन पाउण्ड (१ सय १५ मिलियन युरो) को प्रस्ताव गरेको हो। उनले प्रति सिजन थप १२ मिलियन युरो पाउने छन्।
दुवै पक्ष सहमत भएपछि लुकाकु औपचारिक रुपमा ५ वर्षका लागि चेल्सीमा अनुबन्धित भएका हुन्।
‘सफल क्लबमा आउन पाउँदा म खुशी छु। यो मेरो लागि एक लामो यात्रा भएको छ। म यहाँ एक बच्चाको रूपमा आएको थिए। मैले यहाँ रहँदा धेरै कुरा सिकें। अहिले म धेरै अनुभवि र परिपक्व भएर फिर्ता भएको छु,’ लुकाकुले भने।
लुकाकुले सन् २०१४ मा चेल्सीको सिनियर टोलीबाट मात्र १५ खेल खेल्दै क्लब छाडेका थिए। २०११ मा आन्द्रेलेक्टबाट उनी चेल्सी आएका थिए।
२०१४ देखि २०१७ मा एभर्टनबाट खेलेका उनले १ सय ६६ खेलमा ८७ गोल गरे। त्यसपछि दुई सिजन अर्के इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा बिताएका उनले ९६ खेलमा ४२ गोल गरेका थिए।
२०१९ मा इन्टर मिलान पुगेका लुकाकुले गत सिजन टोलीलाई ११ वर्षपछि लिग जिताएका थिए। उनले लिगमा २४ गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।