काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले पाँच जिल्लाका प्रहरी प्रमुखसँग सुरक्षा अवस्था र समस्याबारे जानकारी लिएका छन्।
गृहमन्त्री खाणले अर्घाखाँचीका प्रहरी प्रमुख नायव उपरीक्षक अम्मरबहादुर श्रेष्ठ, रुकुम पूर्वका प्रहरी प्रमुख नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठ, मुस्ताङ प्रहरी प्रमुख नायव उपरीक्षक श्यामकुमार दानी, गोरखा प्रहरी प्रमुख प्रहरी उपरीक्षक शेखर खनाल र प्यूठानका प्रहरीका कार्यवाहक प्रमुख प्रहरी निरीक्षक देवीप्रसाद गैह्रेलाई टेलिफोन गरेर जानकारी लिएका हुन्।
उनले गोरखा प्रहरी प्रमुख उपरीक्षक शेखर खनालसँग टेलिफोनमा जिल्लाका समस्या र समाधानका उपाय विषयमा कुराकानी गरेका थिए।
उनले कुराकानीको क्रममा जिल्लाको सुरक्षा अवस्था, कोभिड-१९ ले संगठनमा पारेको प्रभाव, अहिले जिल्लामा रहेका सुरक्षा अधिकारीहरूमा कोभिड संक्रमण छ कि छैन, बाढी पहिरोले संगठनका भौतिक संरचना र जनशक्तिमा पारेको प्रभावबारे जानकारी लिएका हुन्।
गृहमन्त्री खाणले सरकारले उपलब्ध गराएको तल्लो दर्जाका कर्मचारीको रासन प्रयाप्त छ कि छैन भनेर पनि जिज्ञासा राखेका थिए।
प्रहरी कर्मचारीको सेवा सुविधानबारे पनि उनले जिज्ञासा राख्दै समाधानका उपाय सुझाउन आग्रह गरेका थिए।
त्यस्तै, प्यूठानका कार्यवाहक प्रहरी प्रमुख निरीक्षक देवीप्रसाद गैह्रेसँग गृहमन्त्रीले सुरक्षा अवस्था, प्रहरीले सुरु गरेको मास्क अभियान, तल्लो तहका कर्मचारीको रासन अवस्था, प्राकृतिक प्रकोपको समस्याबारे जानकारी लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।