काठमाडौं- कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले आफू उच्च सैनिक अधिकृतहरुको सामूहिक निर्णयका आधारमा अघि बढ्ने बताएका छन्।
कायममुकायम प्रधानसेनापतिको जिम्मवारी सम्हालेपछि जंगी अड्डामा आयोजित निर्देशन कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले सामूहिक निर्णयका आधारमा नेपाली सेना सञ्चालन गर्ने र सेनालाई थप व्यावसायिक बनाउँदै लैजान आफूले पहल गर्नेसमेत बताए।
प्रधानसेनापति पूर्णचन्द्र थापा आउँदो भदौ २५ गते निवृत्त हुनुअघि एक महिना विदामा बसेपछि मंगलबारदेखि सेनाको कमाण्ड सम्हालेका शर्माले जंगी अड्डामा प्रिन्सिपल स्टाफ अफिसर्स (पिएसओज्) र भर्खरै अभ्यासमा आएका सेनाका चारवटा कमाण्ड हेडक्वार्टरका सेनापतिहरुलाई निर्देशनसम्बन्धी सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन्।
सम्बोधनमा सहभागी एक उच्च सैनिक अधिकृतका अनुसार कायममुकायम प्रधानसेनापति शर्माले जर्नेलहरुको टिमलाई महत्व दिने र टिमको निर्णयबाट अघि बढ्ने बताएका थिए।
सेनाको निर्णयमा प्रधानसेनापति नै सर्वेसर्वा हुन्छन्। सैनिक ऐनले नै प्रधानसेनापतिलाई असीमित अधिकार छ। तर, शर्माले सामूहिक निर्णयलाई महत्व दिने बताएर सेनामा सबैलाई समेट्ने संकेत गरेका छन्।
‘भर्खर सेनाको कमाण्ड सम्हालेका बेला कामु चिफसाबले सेनालाई एकढिक्का राख्ने सन्देश दिनु राम्रो हो’, एक पूर्वरउपथीले भने, ‘सेनाभित्र लामो समयदेखि नेतृत्वले फेबर गर्ने र नरुचाउने पंक्ति हुर्कंदै आएको छ, यसले त्यसलाई पनि चिर्न मद्दत गर्नेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।