काठमाडौं- नवजात शिशुको हत्या गरेको अभियोगमा १८ वर्षदेखि फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
तनहुँ आँबुखैरेनी गाउँपालिका- १ कुसुन्डेडाँडा बस्ने ५१ वर्षीय मक्रान्ती साईला नामले चिनिने खिमबहादुर सार्की भन्ने प्रेमबहादुर सार्कीलाई प्रहरीले बुधबार पक्राउ गरेको तनहुँ प्रहरी प्रमुख, एसपी दिनेशराज मैनालीले बताए।
पक्राउ परेका सार्कीलाई तनहुँ जिल्ला अदालतले २०६० वैशाख ११ गते बलात्कार गरेर गर्भपतन प्रयास गर्दा जन्मिएकी शिशुलाई हत्या गरेको अभियोगमा सजाय फैसला सुनाएको थियो।
जिल्ला अदालतको फैसलामा सर्वश्वसहित जन्मकैद सजाय सुनाएकोमा पुनरावेदन अदालत पोखराको कार्तिक १८ गतेको आदेशले सदर गरेको थियो।
नवजात शिशु जन्माएर मारेको कर्तव्य ज्यान मुद्दामा तत्काल पक्राउ परेकी टिकामाया अम्गाई भन्ने टिका थापाको बयानमा सार्कीले जवर्जस्ती करणी गरेर गर्भ रहन गएको उल्लेख थियो।
उक्त गर्भ खेर फाल्नको लागि सार्कीले औषधी खान दिएर गर्भपतन गराउदा जिउँदो छोरी जन्मिएको थियो। सार्कीले खरबारीतर्फ लगेर हत्या गरेको अदालतमा पुष्टि भएको तनहुँ प्रहरीले जनाएको छ।
उनलाई फैसला कार्यान्वयनका लागि बुधबार नै तनहुँ जिल्ला अदालतमा बुझाएपश्चात अदालतको आदेशले कारागार चलान गरिसकेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।