काठमाडौं- फिफा वरियतामा नेपाल ३ स्थान माथि उक्लिएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १६८औं स्थानमा पुगेको हो।
पछिल्लो पटक फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले ९७२ बनाएको छ।
नेपालले पछिल्लो पटक विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलियासँग खेलेको थियो। चाइनिज ताइपेईलाई नेपालले हराएको थियो भने अरुसँग पराजित भएको थियो। यस्तै , इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो।
दक्षिण एसियामा भारत सबैभन्दा अघि रहेको छ। भारत १०५औं स्थानमा छ। यस्तै, माल्दिभ्स १५८औं स्थानमा छ। नेपालभन्दा पछि भुटान १८७औं, बंगलादेश १८८औं, पाकिस्तान १९८औं र श्रींलका २०५औं स्थानमा छ।
यसैगरी, विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत रहेको छ। कोपा अमेरिका उपविजेता ब्राजिल एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएको छ। यता, फ्रान्स तेस्रोमा झरेको छ। इंग्ल्याण्ड चौथो स्थानमा यथावत छ।
युरोकप २०२० विजेता इटली र कोपा अमेरिका विजेता अर्जेन्टिना क्रमश: पाँचौं र छैटौं स्थानमा उक्लेको छ। स्पेन सातौं र पोर्चुगल आठौं स्थानमा झरेका छन्। मेक्सिको नवौं र अमेरिका दशौँ स्थानमा उक्लेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।