काठमाडौं– यूईएफए सुपर कपको उपाधि चेल्सीले जितेको छ। गएराति सम्पन्न खेलमा स्पेनिस क्लब भिल्लारियललाई हराउँदै इंग्लिस क्लब चेल्सीले उपाधि जितेको हो।
नर्दन आयरल्याण्डस्थित विन्डसोर पार्कमा सम्पन्न खेलमा चेल्सीले भिल्लारियललाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि जितेको हो। योसँगै चेल्सीले दुईपटक सुपर कपको उपाधि हात पारेको छ। यसअघि चेल्सीले सन् १९९८ मा उपाधि जितेकाे थियाे।
चेल्सीले खेलको २७औं मिनेटमै गोल गरेको थियो। हाकिम जियाचको गोलमा चेल्सीले अग्रता बनाएको थियो।
दोस्रो हाफमा भिल्लारियलले गोल फर्काउँदै खेल बराबरीमा ल्याएको थियो। भिल्लारियलका लागि जेराड मोरानोले ७३औं मिनेटमा गोल गरेका थिए।
त्यसपछि निर्धारित समय तथा अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
पेनाल्टी सुटआउटमा चेल्सीले ६–५ ले जित निकालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।