काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलिका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा प्रकणबारे छानबिन गरिरहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को समितिले थप ५ जनासँग बयान लिएको छ।
राखेपका बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखे संयोजकत्वको ७ सदस्यीय समितिले बुधबार प्रशिक्षक बालगोपाल महर्जन र राष्ट्रिय फुटबल टिमका व्यवस्थापक मधुसुदन उपाध्याय, एन्फा उपाध्यक्ष कृष्ण थापा र वीरबहादुर खड्का र महासचिव इन्द्रमान तुलाधरसँग बयान लिएको हो।
छानाबिन समितिका सदस्य सुवर्णकेशरी श्रेष्ठका अनुसार मंगलबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, केन्द्रीय सदस्य किरण राई र राखेप अन्तर्गत फुटबलको मुख्य प्रशिक्षक अरुणा गुरुङसँग बयान लिइएको थियो।
भोलि बिहीबार प्रशिक्षक अलमुताइरी, एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङलगायत ६ जनाको बयान लिइने बताइएको छ।
प्रशिक्षक अलमुताइरीले एन्फा उपाध्यक्ष नेम्वाङले आफूसँग ३ हप्तादेखि नाटक गरिरहेको भन्दै साउन १० गते सामाजिक सञ्जालमार्फत् राजीनामा घोषणा गरेको थिए। त्यसपछि विवादको सिलसिला शुरु भएको थियो।
उक्त विवादमा एन्फाले छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको थियो। तर, मन्त्रालयले राखेपलाई छानबिनका लागि निर्देशन दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।