काठमाडौं- उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा डोटीको केआईसिंह गाउँपालिका-६ घर भइ काठमाडौं कीर्तिपुर नगरपालिका-७ बस्दै आएका किशोर र कुशल भनेर चिनिने केशवराज भट्ट छन्।
२६ वर्षीय भट्ट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार कलंकीबाट पक्राउ गरेको हो। उनले आफू उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत भएको बताउने र कर्मचारी पोसाकसमेत लगाएर विभिन्न व्यक्तिलाई प्रलोभनमा पारेर ठगी गर्दै आएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले बताए।
उनलाई यसअघि पनि २०७५ चैत २६ गते साइबर क्राइम र ठगी मुद्दामा उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो। त्यसबेला उनी एक वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको सजाय भुक्तान गरेर रिहा भएका थिए।
त्यसैगरी भट्टले सामाजिक सञ्जालमार्फत चिनजान गरी साथी बनाए आफू परराष्ट्र मन्त्रालयको सहसचिवसमेत रहेको भन्दै प्रलोभनमा पारी ठगी गर्ने गरेको कोइरालाले बताए।
उनको साथबाट प्रहरीले आईफोन एक थान, प्रभु बैंकको एटीएम एक थान, किशोर भट्ट नामको त्रिचन्द्र कलेजको विद्यार्थी परिचयपत्र एक थान, किशोर भट्टकै नाममा रहेको नेपाल प्रहरी अस्पतालको ब्लड ग्रुप कार्ड एक थान बरामद भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।